अब रचनाको स्वर फिल्मका गीतमा पनि



काठमाडौं । पछिल्लो पुस्तामा रुचाईएकी गायिका रचना रिमालको स्वर अब फिल्ममा पनि सुन्न पाईने भएको छ ।

रचनाले ‘धुर्मुस–सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’मार्फत पाश्र्व गायनको यात्रा शुरु गरेकी हुन् । यद्यपी, यो फिल्म हलमा रिलिज नभएर ओटीटी प्लेटफर्ममा सार्वजनिक भइसकेको छ । अबभने, रचनाको स्वर सिनेमा हलको पर्दामा समेत सुन्न पाईने भएको छ । लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ र राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’मा रचनाको स्वर रहने भएको छ । यी दुई फिल्मको गीतमा रिमालले आफ्नो स्वर दिईसकेकी छिन् ।

‘यी फिल्मका लागि गीत गाईसकेकी छु’ रचनाले भनिन् ‘अर्को एउटा फिल्मको गीत पनि गाईसकेकी छु । अन्य फिल्मका लागि पनि कुरा भईरहेको छ । यद्यपी, तय भएको छैन् ।’

फिल्मका लागि गीत गाउन गाउँदा खुशी लागेको उनले बताएकी छिन् । दुई वर्षको छोटो अवधिमा १ हजार बढी गीतमा स्वर दिएकी रचनाका ‘फोटो फिरिममा’, ‘उनको प्रीति’, ‘मिनरल वाटर’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता थुप्रै गीत चर्चित छन् ।