‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा पनि



काठमाडौं । स्रोता एवं दर्शकले रुचाएको गीत ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा पनि आउने भएको छ । ६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा ‘कालो केशमा रेलिमई’ गीत सार्वजनिक भएको थियो ।

गीत सार्वजनिक भएसँगै स्रोता दर्शकले निकै रुचाएका थिए । थुप्रै सेलिब्रेटीहरुले समेत गीतको प्रसंशा गर्दै फेसबुकमा शेयर गर्नुका साथै टिकटक बनाएका थिए । युट्युबमा १ करोड २८ लाख बढी भ्युज पाईसकेको गीत अहिलेपनि सहरका रेष्टुरेन्टदेखि ग्रामीण क्षेत्रमा समेत उत्तिकै सुन्ने गरिन्छ ।

पुरुष आवाजमा सुनिरहेको सोही गीत महिला आवाजमा पनि सार्वजनिक हुने भएको हो । गीतको फिमेल भर्सन आउन लागेको हो । ‘फुलबुट्टे सारी’, ‘टाढा भएपनि’, ‘आँखामा आउने सपनी’जस्ता हिट गीतको भिडियो ल्याएको केन्द्र मोशन पिक्चर्सले ‘कालो केशमा रेलिमई’को फिमेल भर्सन ल्याउन लागेको हो । केन्द्र मोशनले शुक्रबारमात्रै ‘कालो केशमा रेलिमई’का सर्जक दिनेशसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

दिनेशसँग सहकार्य गर्दै अहिलेलाई ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा ल्याउने सम्झौता भएको केन्द्र मोशन पिक्चर्शका सिईओ अर्बिन पोमु लिम्बुले जानकारी दिए । उनका अनुसार दिनेशसँगै विस्तारै अन्य प्रोजेक्टहरुमा पनि केन्द्र मोशनको सहकार्य हुनेछ ।

फिमेल भर्सनका लागि डमि तयार भैसकेको उनले जानकारी दिए । ‘केही गायिकाहरु छनोट गरेर कसलाई गाउन दिँदा राम्रो हुन्छ त्यहिअनुसार अगाडि बढ्छौं’ लिम्बुले भने, ‘गीतमा नयाँ टेष्ट पाउनुहुनेछ । पहिलेभन्दा अझ राम्रो बनाउने प्रयास गर्नेछौं । एक, डेढ महिनामा गीत सार्वजनिक गर्नेछौं ।’

सर्जक एवं गायक दिनेशले पनि केन्द्र मोशन पिक्चर्ससँग जोडिन पाउँदा खुशी व्यक्त गरे । दिनेशले यतिबेला आफूले ‘कालीगंगा तिर, दुई वचन हाँसेर बोल कस्लाई छ नी पिर’बोलको नयाँ गीतको तयारी गरिरहेको समेत जानकारी दिए ।