‘ग्राण्ड प्रिमियर’मा दीपक–दीपादेखि निश्चलसम्मले हेरे ‘मन्त्र’, भने – ‘अर्गानिक सिनेमा’



काठमाडौं । भोली अर्थात शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधबार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि सिनेमा क्षेत्रका चर्चित अनुहारहरुको उपस्थिति थियो । अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईँ, मोडल निराजन प्रधान लगायतको उपस्थिति थियो ।

करिब ५१०० मिटरभन्दा माथिको उचाईमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको सिनेमालाई हिमाली प्रेमकथा भनिएको छ । ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकाराजले सिनेमाको छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउने बताए । ‘सिनेमा जुन ठाउँमा छायाँकन गरिएको छ, त्यो छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । सिनेमामा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं’ अभिनेता दीपकराजले भने, – ‘अर्को ब्याकराउण्डस्टोर सबैभन्दा बढी बुलन्द छ सिनेमाको ।’ उनले ‘मन्त्र’फरक खालको लभस्टोरी सिनेमा लागेको बताउँदै सिनेमामा बोनसका रुपमा कमेडीसँगै हिमालका दृश्यहरु, ब्याकराउण्डस्टोर रहेको प्रतिक्रिया दिए ।

अभिनेत्री दीपाश्री निरौलाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँने क्रममा दीपकराजतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’ उनले ‘मन्त्र’ हेरुन्जेल सिनेमाको कथावस्तु, लोकेशनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया दिईन् । सिनेमाको कथावाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको बताईन् । उनले सिनेमाको क्लाइमेक्स सिन नछुटाउन समेत दर्शकलाई आग्रह गरिन् ।
प्रिमियरमा कमै पुग्ने अभिनेता एवं निर्देशक निश्चल बस्नेतले सिनेमा रमाईलो लागेको बताए । उनले कुनै भेगको आफ्नै कथालाई सिनेमामा रमाईलो तरिकाले प्रस्तुत गरिएको बताए । ‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै सिनेमा आरामसँग हेर्न सकियो’ बस्नेतले भने, ‘पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको विभिन्न कथाहरु सिनेमामा आईरहेको छ ।

यसरी नै सिनेमाहरु बन्दै जानुपर्छ जस्तो लाग्छ ।’ निश्चलले पनि ब्याकराउण्डस्टोर सिनेमाको सशक्त पक्ष रहेको प्रतिक्रिया दिए । निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईँ लगायतले सिनेमा मनपरेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायाँकनमा भएका कारण उपस्थित हुन् सकेनन् भने अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित भईनन् । अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिए ।
खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको सिनेमा ‘मन्त्र’मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ । सिनेमाको काठमाडौँ बाहिर एफडी कम्पनी र उपत्यकामा काफिया फिल्मस्ले वितरणको जिम्मा लिएका छन् ।