म्युजिक भिडियोमा पहिलोपटक देखिँदै मुरलीधर



काठमाडौं । ‘उडायो सपना सबै हुरीले…’ भन्ने गीत नसुन्ने नेपाली सायदै कोही होला । यो गीत लेख्ने, गाउने कलाकार हुन् मुरलीधर मिझार ।

उनका ‘चिसो चिसो सिरेटोमा…’, निष्टुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’ गीतहरु पनि उत्तिकै लोकप्रिय छन् । उसो त मुरलीधर व्यक्ति एक प्रतिभा अनेक भएका कलाकार हुन् । थुप्रै हिन्दी, नेपाली चलचित्र, सिरियलमा अभिनय गरेका छन् उनले । नेपालमा मात्र नभएर मुम्बईमा समेत उनको उत्तिकै ख्याती छ । यद्यपी, गायन र अभिनयमार्फत ख्याती कमाएपनि उनी नेपाली म्युजिक भिडियोमा भने अहिलेसम्म अभिनय गरेका थिएनन् । अबभने, दर्शकले मुरलीधरलाई म्युजिक भिडियोमा समेत देख्न पाउनेछन्, त्यो पनि केही दिनमै ।

आफ्नै स्वर रहेको ‘छटपटीएको त्यो दिन फेरी किन याद आयो ?’बोलको वियोगान्त खालको गीतमार्फत मुरलीधरले नेपाली म्युजिक भिडियो अभिनयमा समेत आफ्नो उपस्थिति जनाएका हुन् । र, यो बन्दोबस्तो मिलाएका हुन्, गीतकार एवं संगीतकार सुनिल मास्केले ।

-मुरलीधर र गीतकार एवं संगीतकार सुनिल मास्के ।

खासमा गीतकार एवं संगीतकार मास्के मुरलीधरको ‘उडायो सपना सबै हुरीले’गीतबाट निकै प्रभावित थिए । साढे दुई वर्षअघि मुरलीधरसँगको भेटमा मास्केले प्रस्ताव राखेका थिए –‘म आफैले लेखर तपाईलाई एउटा गीत रेकर्ड गराउँछु । ‘उडायो सपना सबै हुरीले’ जस्तै एक लाइनकै गीत बनाउँछु ।’ गीतकार एवं संगीतकारको प्रस्तावपछि मुरलीधरले उत्साहित हुँदै सहमति जनाएका थिए । त्यसपछि मास्केले लेखेका हुन्, ‘छटपटीएको त्यो दिन फेरी किन याद आयो ?’

‘उहाँसँग कुरा भएपछि उहाँको लागि नै भनेर यो गीत लेखेँ र कम्पोजिशन गरेँ’– मंगलबार गीतको सुटिङस्थलमा गीतकार एवं संगीतकार सुनिल मास्केले सुनाए, ‘उहाँ काठमाडौं आउनुभएको थाहा पाएपछि भोलिपल्ट एरेन्जमा दिएँ । प्रदीप श्रेष्ठले भोलिपल्ट एरेन्ज गर्नुभयो । पर्सीपल्ट गीत रकर्ड भयो ।’ आफूले केही पटक गीत सुनाएपछि मात्र मुरलीधरले गाउन स्वीकार गरेको मास्के बताउँछन् । ‘उहाँलाई मन परे गाउनुहुन्छ, नत्र गाउनुहुन्न भन्ने मलाई थाहा थिएन् । गाईहाल्नुहुन्छ होला भन्ने थियो’ मास्केले भने, ‘सुनाउन लगाउनुभयो, अनि मैले हार्मोनियममा सुनाएँ । फेरी सुनाउँनुहोस भन्नुुभयो, फेरी सुनाएँ । फेरी सुनाउँनुहोस् भन्नुभयो, सुनाएँ । अनि अन्तरा सुनाउन भन्नुभयो । त्यसपछि बल्ल ल ठिक छ म गाउँछु भन्नुभयो । अनि डमी पठाएँ । त्यसको पर्सिपल्ट आएर गाउनुभयो ।’

गत आईतबार रेकर्ड गरिएको गीतको मंगलबारमात्रै काठमाडौंको नक्साल गैरीधारास्थित भोजघर रेष्टुरेन्टमा छायाँकन गरिएको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मुरलीधर स्वयंम फिचर्ड भएका छन् । उनले आफूले म्युजिक भिडियोमा पहिलोपटक अभिनय गरेको बताउँदै उत्साहित रहेको बताएका थिए । निर्देशक वाइवाले मुरलीधरलाई भिडियोमा अभिनय गराउनु आफ्नो लागि ठूलो अवसर भएको बताए । उनले कलाकार मुरलीधरबाट आफूले धेरै कुराहरु सिक्ने अवसर समेत पाएको बताए ।

दीपक गिरीको छायाँकन रहेको भिडियो विकास दाहालमार्फत सम्पादन भएर एक सातामा सार्वजनिक हुने निर्देशक वाइबाले बताए ।