चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु



काठमाडौं । चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु गरिएको छ ।

२०७६ सालको फागुनमा सुरु गरिएको चलचित्रको छायाँकन कोरोनाका कारण बीचमै रोकिन पुगेको थियो । संक्रमण मत्थर भएसँगै फेरी सुरुबाटै चलचित्रको छायाँकन थालिएको हो । कास्कीको ल्वाङ गाउँबाट चलचित्रको छायाँकन सुरु गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको निर्देशन रहने चलचित्रको कास्कीको ल्वाङ गाउँसँगै पोखरा आसपासमा छायाँकन हुनेछ ।

चलचित्रको सुरुवाती छायाँकनमा अभिनेता दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनले काम गरेका छन् । चलचित्रमा दयाहाङ र उगेनका साथमा अभिनेता सौगात मल्ल, अभिनेत्री उपासना सिंह ठकुरी लगायतको शीर्ष भूमिका रहनेछ । सौगात र उपासनाले भने केही दिनमा छायांकन सुरु गर्नेछन् । २ जना साथीको मित्रताको कथामा निर्माण गर्न लागिएको चलचित्रले आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति समेत तय गरिसकेको छ ।