नरेशको ‘मेरो एउटा साथी छ– ३’ आजदेखि



काठमाडौं । लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गर्दै आएको ‘मेरो एउटा साथी छ’को तेस्रो सिजन आजदेखि प्रशारणमा आउन लागेको छ । दुईवटा सिजनको सफलतापछि नयाँवर्ष २०७९ को शुरुवातसँगै सिजन ३ प्रशारणमा ल्याउन लागिएको प्रस्तोता नरेश भट्टराईले जानकारी दिए । आजदेखि हरेक आईतबार राती ९ बजे प्राइम टाइम एचडी टेलिभिजनमा ‘मेरो एउटा साथी छ’ सिजन ३ प्रशारण हुनेछ ।

आज पहिलो एपिसोडमा अभिनेता अनमोल केसी, सलोन बस्नेत र अभिनेत्री सुहाना थापा अतिथि रहेका छन् । यसअघिका दुई सिजनको निर्देशन नरेश स्वयंमले गर्दै आएकोमा तेस्रो सिजनलाई भने अमनप्रताप अधिकारीले निर्देशन गर्दैछन् । अमनप्रतापले यसअघि ‘ऐना’, ‘हिमालय रोडिज’ जस्ता थुप्रै शो निर्देशन गरिसकेका छन् ।

‘मेरो एउटा साथी छ’दुई मित्रहरुबीचको कुराकानी हुने रमाईलो मनोरञ्जनात्मक कार्यक्रम हो । कार्यक्रमका दुई सिजनमा देशका चर्चित कलाकारसँगै अन्य ब्यक्तित्वहरु समेत अतिथिका रुपमा पुगिसकेका छन् । ‘पहिलो सिजन र दोस्रो सिजन हिट भैसकेपछि अझ परिस्कृत र परिमार्जित गरेर तेस्रो सिजन सुरु गरिएको हो’ प्रस्तोता नरेशले भने, ‘तेस्रो सिजनलाई यसअगाडिका भन्दा अझ भब्य बनाउने प्रयास रहनेछ ।’

‘मेरो एउटा साथी छ’का दुई सिजन निकै लोकप्रिय भएका थिए । धेरै एपिसोडहरु युट्युब ट्रेन्डिङमा आएका थिए भने कार्यक्रममा अतिथिहरुले बोलेका प्रेरणादायी, रमाईला कुराहरुको टिकटक समेत निकै धेरै बन्ने गरेका थिए । तेस्रो सिजनले दर्शकबाट अझ धेरै माया पाउने प्रस्तोता भट्टराईको विश्वास छ ।

नरेशले कुनैबखत नेपालमा डान्सको पहिलो रियालिटी शो ‘आँगन’ संचालन गरेका थिए । यो नेपाल टेलिभिजमा प्रशारणमा आउँथ्यो । त्यस्तै श्रीमान–श्रीमतीबीचको रमाईलो कुराकानीको कार्यक्रम शुरुवात गर्ने श्रेय पनि सञ्चारकर्मी नरेशलाई जान्छ । उनले टि–टीभीमा ‘लभ एण्ड लाइभ’ कार्यक्रम सुरुवात गरेका थिए । त्यसपछि उनले दुई मित्रहरुबीचको कुराकानीको कार्यक्रम सुरुवात गरेका हुन् । जुन कार्यक्रम ‘मेरो एउटा साथी छ’को आजदेखि तेस्रो सिजन प्रशारणमा आउन लागेको हो ।

‘मेरो एउटा साथी छ’को तेस्रो सिजनलाई लिएर नरेश निकै उत्साहित छन् ।
कार्यक्रमको प्रोमो :