झरना–सुनिलको आक्रोश : आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बाँकी राख्छ त ?



काठमाडौं । आगामी बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ । यो चलचित्रको प्रदर्शनलाई लिएर यतिबेला नेपालमा निकै चासोका साथ हेरिएको छ । किनकी यो मितिमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’ रिलिज हुँदै छ । मल्टिप्लेक्स हलहरुमा उक्त चलचित्रलाई धेरै शोज दिइएपनि ‘ए मेरो हजुर ४’ले अपेक्षित शोज पाएको छैन् । विदेशी चलचित्रको दबदबाकाबीच प्रदर्शनमा आउने तयारीमा रहेको भएर ‘ए मेरो हजुर ४’ को व्यापार कस्तो हुने हो धेरैले चिन्ता र चासोका रुपमा हेरिरहेका छन् । कतिपयले चलचित्र ‘ए मेरो हजुर ४’ पछाडि हटने अड्कलबाजी पनि काटिरहेका छन् ।

सोहीबीच चलचित्रकी निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाले दर्शकलाई गरेको बाचाप्रति आफूहरु कटिबद्ध रहेको स्पष्ट पार्दै आफूहरु बैशाख १ मै आउने बताएका छन् । उनीहरुले जस्तोसुकै परिस्थिति आएपनि तोकेको मैदान छाडेर एकरत्ति पनि पछि नहटेको फेसबुकमा उल्लेख गरेका छन् ।

दर्शकहरु नै आफूहरुको पहिलो र अन्तिम तागत तागत भएको उल्लेख गर्दै ‘ए मेरो हजुर–४’लाई अझ धेरै साथ र सद्भावको जरुरी परेको बताएका छन् । ‘हामी, हामीले दर्शकलाई गरेको वाचाप्रति कटिबद्ध छौ । चाहे जस्तोसुकै परिस्थिति आओस, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि हटेका छैनौं । यसमा नेपाली चलचित्रको भलो नचाहनेहरु ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरुमा पुगिसकेको छ । हामी बैशाख १ मै दर्शकमाझ आउछौँ’ उनीहरुले स्पष्ट पारेका छन् ।

उनीहरुले शो विभाजनमा ‘ए मेरो हजुर ४’ विदेशी चलचित्रको पेलनामा परेकोले निकै आक्रोशित छन् । सो विषयलाई लिएर उनीहरुले फेसबुकमा लेखेका छन् ‘अहिले हामी बिदेशी चलचित्रसंग एक्लै लड्नु परेको छ । भोलि तपाईले पनि लड्नु पर्ने नै छ । बुढी मरि भन्दा पनि काल पल्किएको हेक्का राख्नु हुन मेरो विनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बाँकी राख्छ त ? यो तथ्यलाई बिचार गर्नु होला ।’ सुहाना ईन्टरटेन्मेन्टको प्रस्तुती रहेको ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।