‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ को दोश्रो दिन ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न



काठमाडौं । शनिबारदेखि काठमाडौंको टुँडिखेलमा सुरु भएको‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ को दोश्रो दिन सहभागी ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ । टुँडिखेलमा चलि रहेको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशीको प्रतियोगीतासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।

महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरेका थिए । विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भई टुँडिखेलमा पुगेपछि महोत्सवको उद्घाटन गरिएको थियो ।

टुबोर्गको प्रस्तुती एवं बागेश्वरी खड्का हाउजिङ डेभलपर्सको मुख्य प्रायोजन रहेको महोत्सवको पहिलो दिन विभिन्न लोकभाका एवं गीतहरु चर्चित गायक÷गायिकाहरुले प्रस्तुत गरेका थिए । पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुञ्जिएको थियो ।

भोलि तेश्रो दिन देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूह मध्येबाट दोश्रो चरणमा पुग्नेहरुको प्रतिस्पर्धा हुनेछ । प्रतियोगीतामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ । दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु निर्णायकका रुपमा रहेका छन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा छन् ।

त्यस्तै, गायक–गायिकाहरु अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको छ । महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुती भई रहेको छ ।