जी–बबले गाएको ‘ए मेरो हजुर ४’को गीत ट्रेन्डिङको शिर्ष स्थानमा



काठमाडौँ। जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले चलचित्र ‘ए मेरो हजुर ४’ को लागी गाएको गीत सार्वजनिक गरिएको छ । उनको पार्श्वगायन रहेको पहिलो गीत ‘भाग भाग अब धेरै न दे धाक’ सार्वजनिक गरिएको छ । गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो ।

‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेपछि जी-बबको पहिलो अफिसियल गीत सार्वजनिक भएको हो । गीतको भिडियोलाई संजय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

बैशाख १ गते बाट प्रदर्शनमा आउने चलचित्रको गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । यो समाचार तयार पार्दासम्म गीत सात लाख भ्युज सहित नम्बर १ ट्रेन्डिङमा रहेको छ । निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ ।

झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।सुनिल कुमार थापाले निर्माण गरेको चलचित्र मा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।