लोकगायक खनाल भन्छन् : फोहोरी गीतले भाइरल त बनाउला तर लोकप्रिय कहिल्यै बनाउने छैन



काठमाडौं । अग्रज लोकगायक रामप्रसाद खनालले पछिल्लो समय लोकदोहोरी फोहोरी बन्दै गईरहेको गुनासो गरेका छन् । उनले फोहोरी गीतले जोकोहीलाई भाइरल बनाएपनि लोकप्रिय कहिल्यै नबनाउने बताउँदै त्यस्ता गीत नगाउन आग्रह गरेका छन् ।

‘लोक दोहोरीको क्षेत्रमा केहीले राम्रो गरिरहनुभएको छ । उहाँहरूलाई हार्दिक धन्यवाद र आभार । अधिकांश दोहोरी र दोहोरी कार्यक्रमहरू अहिले दोहोरी गीतका नाममा फोहोरी गीत बनाउन उद्धत देखिन्छन् । यिनका पात्रहरू, बिषयबस्तुहरुले सीमा नाघेको देख्दा मन अमिलो हुन्छ’ खनाल फेसबुकमा लेख्छन् ।

उनले दोहोरी गीतको पनि आफ्नै धर्म र सीमा हुने भएपनि यहाँ सीमा विहीन रहेको बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘दर्शक र श्रोता पनि उस्तै आजकल, त्यस्तै छाडा मन पराउँछन् १ फोहोरी गीतले तिमीलाई भाइरल त बनाउला तर लोकप्रिय कहिल्यै बनाउने छैन बुझ्नु । बरु तिम्रो फोहोरी गीतले तिमीलाई हेर्ने मान्छेको नजर झनै फोहोरी हुने छ ।’ उनले आफूले सांगीतिक क्षेत्रमा पाइला राख्दै गर्दा अग्रजहरुले फोहोरी गीत गाउन कहिल्यै नसिकाएको बताउँछन् । ‘हाम्रा अग्रजहरूले हामीलाई यस्ता फोहोरी गीत गाउन कहिल्यै सिकाएनन् । हामीले पनि सिकेनौँ र लोक दोहोरीको अभियानमा खुन पसिना सिँचेर बर्षौ देश–विदेश दौडाहा गर्दा न त छाडा भयौँ, न त अरूलाई छाडा बनायौँ, न त त्यस्तो सिकायौँ’ उनले आग्रह गरेका छन् ‘बिन्ती छ लोक दोहोरी क्षेत्रलाई फोहोरी क्षेत्र नबनाइदेऊ । लोक संस्कृतिमाथि खेलबाड नगरिदेउ । भाइरल बन्न भन्दा लोकको प्रिय बन्न सिक । लोकप्रियता र भाइरलमा धेरै भिन्नता छ ।’

डेढ डेढ दशकयता अमेरिकामा बस्दै आएका गायक खनालका ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’, ‘देउरालीमा पीपल छायाँले, दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘गुल्मी झरेर’, ‘मेरै माया’, ‘माया गाँसौं न’ लगायतका गीत लोकप्रिय छन् । खनाललाई विशेषगरी टेलिभिजनमा लोकदोहोरीलाई स्थापित गराउने गायकका रुपमा लिइन्छ । नेपाल टेलिभिजनमा उनले सञ्चालन गरेको ‘लोकदोहोरी’ कार्यक्रम निकै लोकप्रिय मानिन्थ्यो । अहिले पनि उक्त कार्यक्रमलाई धेरैले सम्झने गर्छन् ।