आजदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ : उपराष्ट्रपतिबाट समुद्घाटन हुँदै



काठमाडौं । आजदेखि काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शुरु हुँदैछ । डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजको आयोजनामा हुन लागेको महोत्सव पाँच दिनसम्म चल्नेछ ।
महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नेछन् ।

बिहान ११ बजे बबरमहलदेखि देशभरबाट उपस्थित ४३ समूहबाट विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली शुरु भई टुँडिखेलमा पुगेर १ बजे महोत्सवको उपराष्ट्रपतिले उद्घाटन गर्ने आयोजक संस्थाका निर्देशक श्याम धितालले जानकारी दिए ।

टुबोर्गको प्रस्तुती एवं बागेश्वरी खड्का हाउजिङ डेभलपर्सको मुख्य प्रायोजनमा हुन लागेको महोत्सवमा हुने खुल्ला दोहोरी प्रतियोगीतामा विभिन्न जिल्लाका ७३ समूहबीत प्रतिस्पर्धा हुनेछ । यो खुला दोहोरी प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको प्रतियोगीता रहेको आयोजकको भनाई छ । प्रतियोगीतामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ ।

खुल्ला लोक दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु निर्णायकका रुपमा रहनेछन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा रहेका छन् । त्यस्तै, गायक–गायिकाहरु अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहने छ । महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा विभिन्न विधाका चर्चित कलाकारहरूको दैनिक प्रस्तुती रहनेछ । विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । महोत्सवले नेपाली लोक गीत संगीतको जगेर्ना गर्ने आयोजक संस्थाको विश्वास छ ।