स्टारडममा होइन चलचित्रमा भरोसा छ : झरना थापा



काठमाडौँ। चलचित्र ‘ए मेरो हजुर ४’ निर्देशक झरना थापाले चलचित्रको कथा र निर्माणमा पुरा भरोसा रहेको बताएकी छिन् । बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडम भन्दा चलचित्रमा ज्यादा भरोसा रहेको बताएकी छिन् । आइतबार पत्रकारसँग कुरा गर्दै झरनाले चलचित्र राम्रो नहुँदासम्म कसैको स्टारडमले पनि काम नगर्ने र चलचित्र राम्रो हुँदा नै त्यसले दर्शकलाई हलसम्म आउन प्रेरित गर्ने बताएकी हुन् ।

‘अनमोल निश्चय नै नेपाली फिल्मको स्टार हो, यसमा शंका छैन । अनमोलले चलचित्रको भ्यालु थपेको छ । तर निर्देशकको रुपमा भन्नु पर्दा चलचित्रले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, यही नै आफुलाई स्टार लाग्छ,’ उनले भनिन् ।’

निर्माता सुनिलकुमार थापाले पनि आफूले बनाएका दर्जन बढी सिनेमामध्ये ‘ए मेरो हजुर ४’ सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे । आफूले बनाएका धेरै सिनेमा हिट नै रहेका भएपनि ‘ए मेरो हजुर ४’ खास रहेको उनले बताए । ‘अनमोलले पनि अहिलेसम्म गरेको अभिनयमध्ये यसमा गरेको काम उत्कृष्ट छ । यो चलचित्रछि तपाईंहरूले अनमोलको नयाँ स्वरुप देख्नुहुन्छ,’ उनको भनाइ थियो ।

अभिनेता अनमोल केसीले भने फिल्म ‘ए मेरो हजुर ४’मा नयाँ कथा नभए पनि भएको कथालाई राम्ररी प्याकेजिङ गरिएको बताए । ‘कथाको हिसाबले यो कुनै नयाँ फिल्म हैन तर यसमा जसरी कथालाई प्याकेजिङ गरिएको छ, त्यसले फिल्मलाई इन्टरटेनिङ बनाएको छ,’ ।

उनले थपे, ‘भोलि मैले फिल्ममा के कति काम गरेको छु भन्ने कुरा त फिल्म रिलिजपछि आउला । तर कलाकारको रुपमा चैँ थोरै अपग्रेट भएको महसुस गरेको छु ।’ चलचित्रमा सुहाना थापाले अनमोल केसीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।

अभिनेत्री झरना थापा निर्देशित तेस्रो चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्रको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।