पत्रकार माथी भएको दुर्व्यवहार प्रति पत्रकार महासंघको आपत्ति



काठमाडौँ। लालीगुराँस डटकमका संचालक कमल सरगम चौलागाईंलाइ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेकाे घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरले आपत्ति जनाएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको राष्ट्रिय टुबोर्ग दोहोरी रनिङ्गसिल्ड प्रतियोगिताको रिपोर्टिङ्ग गर्न पुगेका पत्रकार महासंघ ललितपुर शाखाका सदस्य चौलागाईं माथि दुर्व्यवहार भएको भन्दै पत्रकार महासंघ ललितपुरले एक बिज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो।

गत चैत्र १९ गते बेलुकी समयमा भृकुटीमण्डपमा भएको बिशेष दोहोरी प्रतियोगिताको समाचार संकलनको क्रममा आफूमाथि दुर्व्यवहार भएको सरगमले जानकारी दिए। दोहोरीबाट पराजित तारा थापाको टिम संग अन्तरबार्ता गर्दै गर्दा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्काले अन्तरबार्ता लिदै गर्दा क्यामेरा बन्द गर्न दबाब सहितको धम्की दिएको र क्यामेरा समेत बन्द गरेको भन्दै सरगमले कारबाहीको माग गरेका हुन्।

बिज्ञप्तिमा भनिएको छ ‘२०७८ चैत्र १९ गते बेलुका भृकुटीमण्डपमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको योजनामा भएको खुल्ला टुबोर्ग लोक दोहोरी प्रतियोगिताको समाचार संकलन गर्ने क्रममा नेपाल पत्रकार महासंघ ललितपुर साखाका सदस्य तथा लालिगुरास डटकमका पत्रकार कमल सरगम चौलागाईं माथि भएको दुर्व्यवहारप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

रिपोर्टिङ्ग गरिरहेकै क्रममा दोहोरी प्रतियोगितामा पराजित भएकी तारा थापाको टिम संग अन्तरबार्ता लिने क्रममा प्रतिष्ठानकै उपाध्यक्ष कलाकार दिपक खड्काले पत्रकार चौलागाईंमाथि दुर्व्यवहार गरेका थिए।खड्काले तत्काल क्यामेरा बन्द गर भन्दै गालि गलौज गरि क्यामेरा समेत बन्द गर्ने प्रयास गरेको पिडित चौलागाईंको भनाइ छ।

हरेक घटनाको सत्यतथ्य सुचना पाउने जनताको अधिकार हो,उक्त अधिकारको रक्षा गर्न र सत्य तथ्य सुचना संकलन गर्न जादा पत्रकार चौलागाईं माथि कलाकार दिपक खड्काबाट गरिएको दुर्व्यवहारले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ। त्यसैले नेपाल पत्रकार महासंघ ललितपुर साखा उक्त घटनाको घोर निन्द एवम् भर्त्सना गर्दै दोषी उपर कारबाहीको माग गर्दछ।’