भोजपुरी फिल्म ‘रण’मा नरेनको एक्सन अवतार



काठमाडौं । भोजपुरी फिल्म ‘रण’को ट्रेलर सार्वजनिक गरिएको छ। जसमा नेपाली अभिनेता नरेन खड्काले पर्याप्त मौका पाएका छन् । फिल्ममा नरेनले खलपात्रको भूमिकामा अभिनय गरेका छन् ।

भोजपुरी अभिनेता आनन्द ओझासँग उनी ट्रेलरमा आमनेसामने छन् । भोजपुरी बेल्ट र नेपालको तराई क्षेत्रका दर्शकले यो फिल्म रुचाउने निर्माण पक्षको अनुमान छ ।

फिल्मको कथा र निर्देशन चन्द्र पन्तको रहेको छ । ‘निरहुआ चलल लण्डन’ नामक भोजपुरी फिल्मबाट निर्देशनमा डेब्यु गरेका पन्त अब नेपाली फिल्ममा भाग्य जमाउने तयारीमा छन् । फिल्म ‘रण’मा चाहिं प्रशस्त एक्सन दृश्य समावेश गरिएको छ ।

अभिनेता खड्काका अनुसार उक्त फिल्मलाई बिहार र नेपालको तराई क्षेत्रका सिनेमा घरमा प्रदर्शन गर्ने तयारी छ । नरेन र आनन्दसहित फिल्ममा कागल रागवानी, सीपी भट्ट, मनोज टाइगरको समेत मुख्य भूमिका छ ।