पुजा र आकाशको ‘सम्झना बिर्सना’ जेष्ठ ६ मा



काठमाडौं। अभिनत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र ‘सम्झना बिर्सना’ आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् । यस अघि २०७७ सालको जेठ २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोना महामारी कारण सिनेमा प्रदर्शन हुन सकेको थिएन् ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । निमेष प्रधान निर्देशित चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको छ ।

आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन गरिएको हो । चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । चलचित्रको वितरण आर आर फिल्मस्ले गर्नेछ।