भुवनलाई लाईफटाइम लिजेन्ड्री, सुवेदीलाई पत्रकारिता पुरस्कार



काठमाडौँ। यही १२ चैतमा हुने भनिएको छायाँछवि डि सिने अवार्ड सरेको छ । यो अवार्ड अब २६ चैतमा धुलिखेलमा आयोजना हुने भएको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोष्णा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डस्को अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष/महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार चैत्र २६ गते धुलिखेल सनराईज् रिसोर्टमा हुने १२ औं छायाँछवि डि सिने अवार्डका अवसरमा प्रदान गरिने जानकारी गराए । अवार्ड भव्य एवं सभ्य रुपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ चलचित्र पछि चन्दले हिजो आज भोली, दुई थोपा आँसु, कोशेली, सिमा रेखा, नेपाली बाबु लगायत धेरै चलचित्रहरुमा अभिनय गरेकी छिन् भने विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिश्रृंखला, भिडियो चलचित्र लगायतका धेरै अनुभव बटुलेकी छिन् । विभिन्न पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेकी यिनै भुवन चन्दलाई यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड प्रदान गर्न लागीएको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामालाई प्रदान गर्ने भएको छ । २०४१ सालमा सार्बजनिक भएको चलचित्र आदर्श नारीबाट विजय लामाले आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । लामाले कोशेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लण्डनमा लगायतका करिव दुई दर्जन चलचित्रमा अभिनय गरेका छन् । साथै लामाले हलिउड चलचित्रमा समेत काम गरिसकेका छन् । नेपाल एयरलाइ्रन्स्का सिनियर पाइलट समेत रहेका यिनै विज लामालाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मानबाट सम्मान गरिन लागेको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गर्ने भएको छ । यसो त थापाले २०५३ सालमा चलचित्र ‘दाइजो’ नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । उनले धर्मसंकट, गोर्खाली, बादल पारी, जिवन साथि, पुर्णिमा, ए मेरो हजुर, मेरी आमा, विदाई, ओम लगायतका सयौं चलचित्र छन् भने ए मेरो हजुर २ बाट निर्देशनमा आइसकेकी छिन् । पछिल्लो चरणमा चलचित्र निर्देशन तथा निर्माणमा समेत थापाले निरन्तरता दिएकी छिन् । यिनै झरना थापालाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिने भएको छ ।

यस्तै यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ । पर्वतमा जन्मिएका सुवेदीले रेडियोमा काम गर्दै पत्रकारितामा प्रवेश गरेका हुन् । शुरुमा रेडियो तथा पत्रिकामा एकै पटक काम गरी प्रवेश गरेका सुवेदी यतिखेर आफ्नै लेन्सनेपाल डटकम वेवमा कार्यरत छन् । मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा एवं पत्रपत्रीका हुदै टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसर हुँदै टीभी फिल्मीको स्टेशन म्यानेजरका रुपमा सुवेदीले कार्यगत अनुभव संगालेका छन् । यिनै विष्णु सुवेदीलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिदैछ ।