सांस्कृतिक संस्थानले देश चिनाउन सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने



काठमाडौँ। सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै संस्थानले आगामी २०७९ असार ५ गते ५० औं वार्षिकोत्सव मनाउन लागेको जानकारी समेत दियो ।

सो अवसरमा संस्थानले प्रदर्शनकारी कलासँग जोडिएका विभिन्न पक्षजस्तै मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं सांस्कृतिक महत्वका विभिन्न फोटोहरू समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्न लागेको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए । उनले नेपालको सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउन फोटो पुस्तक महत्वपूर्ण सामाग्री हुने धारणा राखे ।

‘पछिल्लो समय संस्थानमा नयाँ सोच र शैलीका साथ परिणाममुखी काम भइरहेको छ’, महाप्रबन्धक राईले भने, ‘५०औं वार्षिकोत्सव सांस्कृतिक संस्थानका लागि नयाँ युगको प्रवेशद्धार हुने छ ।’

स्वर्ण महोत्सवको अवसरमा प्रकाशन हुने फोटो पुस्तकका लागि संस्थानले फोटो आह्वान गरेको छ । यसका लागि सांस्कृतिक संस्थानको वेभसाइटमार्फत देशविदेशबाट जो सुकैले फोटो पठाउन सक्ने व्यवस्था गरिएको छ ।

प्राप्त फोटोमध्ये निर्णायक समितिको छनोटका आधारमा लगभग तीन सय फोटोहरू पुस्तकमा समेटिने भएको छ । त्यसमध्ये उत्कृष्ट १० फोटोलाई जनही १०,१० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । पुस्तकमा समेटिएका सबै फोटोग्राफरलाई एक एकप्रति फोटो पुस्तक एवं प्रमाणपत्र प्रदान गरिनेछ ।

फोटो छनोटका लागी संस्थानले नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं वरिष्ठ संस्कृतिविद् प्रा। तुलसी दिवस, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल र वरिष्ठ फोटोपत्रकार विकास कार्की सम्मिलित निर्णायक समिति गठन गरेको छ । प्रतियोगितामा सहभागी इच्छुक फोटोग्राफरले २०७८ चैत २५ गतेभित्र फोटो पठाइसक्नु पर्ने व्यावस्था गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.