पल्पसा डंगोल ‘चम्सुरी’ले गरिन् मिर्गौला प्रत्यारोपण



काठमाडौँ। कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको उनको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सकिएको कलाकार संघले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चिकित्सकहरुको टोलीको करिब ५ घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण सफल भएको हो । चिकित्सकको टोलीमा प्राध्यापक डा.दिव्या सिंहको नेतृत्वमा प्रा.डा.उत्तमकुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा. डा. पवन बस्याल, प्रा.डा.भोजराज लुईटेल लगायत सहभागी थिए । उनलाई नजिकका आफन्त पर्ने अजु डंगोलले मिर्गौला दिएका हुन् ।

‘विगत केही महिनादेखि अभिनेत्री पल्पसाको मिर्गौलाले प्रत्यारोपणका लागि पहल भइरहेको थियो’ रबिन्द्र खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ‘पल्पसालाई हप्ता दिन आईसियुमा राखिनेछ ।’ मिर्गौला दिने अजुले पनि ४/५ दिनसम्म बस्नुपर्ने खड्काको भनाई रहेको छ ।

मिर्गौला प्रत्यारोपणका लागि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा २४ र २५ गते शिक्षण अस्पतालमा आवश्यक समन्वय गरिएको थियो । मिर्गौला प्रत्यारोपणका लागि १२ लाख रुपैयाँ खर्च भएको छ । जसमध्य अभिनेत्री वसुन्धरा भुसालको संयोजकत्वमा रहेको चलचित्र बिकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले संघको सिफारिसमा दुई लाख प्रदान गर्ने निर्णय गरेको छ । अन्य खर्च कलाकार संघले जुटाउने पहल गरिहेको छ ।

केही अगाडि लामै समय अस्पताल बसेकी पल्पसा हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा सुरुदेखि नै अभिनयरत छिन् । केही अगाडि उनी ६ महिनापछि टेलिफिल्म सेटमा फर्किएकी थिइन् । पल्पसाको मिर्गौला प्रत्यारोपण केही अगाडि गर्ने प्रयास समेत गरिएको थियो । कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेको कारण शल्यक्रिया हुन सकेको थिएन ।