‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौँ। चैत ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा औपचारिक कार्यक्रम गर्दै चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीले निर्देशन गरेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित चलचित्र तयार गरेको जानकारी गराए । ‘शंकर लामिछानेले विम्ब प्रतिविम्ब भन्ने लेखमा भूपिका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा धेरै पुस्तामा देखिन्छ । अब त्यो पुस्तामा म पनि परेँ,’ दिन्सको भनाइ थियो । चलचित्र निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा चलचित्र निर्माणमा संलग्न भएको बताए ।

चलचित्रका मुख्य अभिनेता दिव्य देवले फिल्म निर्माणका रोचक कथा सुनाउँदै आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिए । थिएटरबाट फिल्ममा आएका उनले कतिपय फिल्म गर्दा सहकर्मीबीच आत्मीयता स्थापित गर्ने मौका नपाएको स्मरण गर्दै उनले यो फिल्ममा भने त्यो मौका पाएको र सम्पूर्ण सहकर्मीसँग परिवारको जस्तो सम्बन्ध स्थापित भएको स्मरण गरेका थिए ।

सृष्टि श्रेष्ठले चलचित्र भित्र शालीनताको चरित्रको निर्वाह गरेकी छिन् । उनले चलचित्रमा काम गर्दा व्यक्तिगत रुपमा पनि आफ्नो व्यक्तित्वमा परिवर्तन महसुस गरेको बताइन । चलचित्रका अन्य अभिनेता सुशील पाण्डे, नविन लम्साल र निकुन श्रेष्ठले पनि फिल्मको हिस्सा हुन पाउँदो खुसी लागेको अनुभव सुनाए ।

दिन्स पाल्पालीकै लेखन रहेको चलचित्रमा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्।

चलचित्रको सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।
फोटो:सुयोग मान श्रेष्ठ