‘लप्पन छप्पन २’ फागुन २० मा



काठमाडौं। मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन फागुन १३ गतेबाट फागुन २० गतेलाई सरेको छ । नेपाल चलचित्र संघले फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन सारेको हो । ‘लप्पन छप्पन २’ फागुन २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।

निर्देशक भट्ट र निर्माता निर्मल कुमार मिश्रले फागुन २० मा ‘लप्पन छप्पन २’ लाई सहज प्रदर्शनको व्यवस्था मिलाउन चलचित्र संघदेखि विकास बोर्डसम्मको सहयोग आवश्यक रहेको बताए । फागुन १३ को मिति छाड्न चौतर्फी दबाब आएपछि बाध्य भएर चलचित्रको रिलिज सारेको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, आना ढकाल लगायतको अभिनय छ । कोरोना महामारीका कारण दुई वर्षदेखि अड्किएर बसेको ‘लप्पन छप्पन २’ ठूलो बजेटमा निर्माण भएको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।