खेमका एकपछि अर्को गीत करोड क्लबमा



काठमाडौं । गायक एवं सर्जक खेम सेञ्चुरीका एकपछि अर्को गीतले युट्युबमा करोड भ्युज पाउँदै गएका छन् । शुक्रबारमात्रै उनको संगीत र स्वर रहेको ‘सुर्ति माड्दै माड्दै’ले युट्युबमा करोड भ्युज पाएको छ ।

नेत्र अर्यालको शब्द, खेम र समीक्षाको स्वर रहेको गीतको भिडियो ९ महिनाअघि सार्वजनिक गरिएको थियो । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा पल शाह र समीक्षा अधिकारीको अभिनय छ । सर्जक एवं गायक खेम जोडिएका अन्य थुप्रै गीतले युट्युबमा करोड भ्युज पाईसकेका छन् ।

यसअघि उनको संगीत र स्वर रहेको ‘रम रम मरौटी’ले युट्युबमा करोड भ्युज पाएको थियो । नेत्र अर्यालको शब्द रहेको ‘रम रम मरौटी’मा खेम र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र ओबी रायमाझीको अभिनय छ । अहिले यो गीतको भिडियोको भ्युज २ करोड २० लाख पुगिसकेको छ । उनको संगीत रहेको ‘चिया छानेको’लाई युट्युबमा १ करोड ८१ लाख बढी हेरिएको छ ।

उनको संगीत र स्वर रहेको ‘सोँचे झै जिन्दगी रैनछ’लाई १ करोड ८४ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै, उनको संगीत र स्वर नै रहेको ‘झ्यालमा पर्दा छ’लाई १ करोड ९६ लाख, ‘लरिलरिलै’लाई १ करोड ५२ लाख पटक हेरिएको छ । खेमको अन्य थुप्रै गीतलाई स्रोता एवं दर्शकले निकै रुचाएका छन् । युट्युबमा ५० लाख बढी भ्युज पाएको उनका गीतहरु थुप्रै छन् । सांगीतिक क्षेत्रमा लामो संघर्षपछि खेमलाई गतवर्ष सर्वाधिक सफलता मिलेको हो । त्यसयता उनी लोकदोहोरीमा सर्वाधिक चर्चितमध्येका गायक एवं सर्जक मानिन्छन् । उनको नयाँ गीत रुमाल साटन पर्दैन केही दिनमा सार्वजनिक हुँदैछ ।

उनै खेमले आज आफ्नो जन्मदिन मनाईरहेका छन् । उनको जन्मदिनमा सांगीतिक क्षेत्रका थुप्रैले शुभकामना दिईरहेका छन् । उनलाई सेलिब्रेटी नेपालको तर्फबाट पनि हार्दिक शुभकामना ।