‘कालो केशमा रेलिमई’लाई करोड भ्युज



काठमाडौं, माघ ६। गायक दिनेश ढकालको पहिलो गीतलाई नै युट्युबमा एक करोड भ्युज मिलेको छ । उनको शब्द, संगीत र स्वर रहेको ‘कालो केशमा रेलिमई’ बोलको गीतले बिहीबार युट्युबमा एक करोड भ्युज पार गरेको हो ।

यो गीत तीन महिना अघि युट्युबमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै गीत युट्युक, टिकटकमा भाइरल भएको थियो । विशेषगरी युवापुस्ताले गीतलाई निकै रुचाए । अहिले पनि यो गीतको चर्चा उत्तिकै छ । शार्दुल श्रेष्ठको संगीत संयोजन रहेको गीतको भिडियोलाई मानव सुवेदीले छायाँकन, निर्देशन एवं सम्पादन गरेका हुन् । भिडियोमा दिनेशका साथमा अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा, स्वीकृती उप्रेती देखिएका छन् ।

गायक ढकालले अहिले दोस्रो गीतको तयारीमा छन् । गीत लेखन र कम्पोजको काम सकिएको बताउँदै चाडै रेकर्ड गरेर भिडियो तयार पार्ने उनले बताए । आगामी गीतमा पनि आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास रहने दिनेशले बताए ।