‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन फेरि अनिश्चितकालका लागि स्थगित



काठमाडौं, माघ ५। नेपालमा कोरोना संक्रमण फेरि हवात्तै बढेको छ । कोरोना संक्रमण बढेसँगै विभिन्न प्रतिबन्धात्मक कदमहरु चालिएका छन् । जसको ठूलो प्रभाव चलचित्र क्षेत्रमा परेको छ । लामो समयपछि चल्मलाउँदै गरेका चलचित्र हलहरु माघ १५ गतेसम्मका लागि बन्द गरिएका छन् । जसको सबैभन्दा ठूलो मारमा चलचित्र ‘चपली हाइट ३’ परेको छ । यो चलचित्र प्रदर्शनमा आएको तेस्रो दिनदेखि सरकारले चलचित्र हलहरु बन्द गर्ने निर्णय गरेको हो । अब प्रदर्शनका लागि तयार चलचित्रको प्रदर्शन पनि स्थगित हुन थालेको छन् ।

यसैबीच माघ १९ गतेका लागि प्रदर्शन मिति तय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्माण टिमले बुधबार एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएको हो । ‘कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले आवश्यक काम बाहेक भीडभाडमा नजान र धेरै मानिसको भेला हुने कार्यक्रम नगर्नका लागि सूचना जारी गरेकोमा यहि माघ १९ गते प्रदर्शन हुन लागेको चलचित्र म यस्तो गीत गाउँछु २ को तर्फबाट हामीले पनि आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं’ – सूचनामा उल्लेख छ ।

कोरोनाको तेस्रो लहर सहज भएपछि नयाँ प्रदर्शन मिति तय गर्ने निर्माण टिमले जनाएको छ । यसअघि २०७६ को फागुन ३० गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना महामारीका शुरु भएपछि चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो ।

सुदर्शन थापाको निर्देशन रहेको ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन र अभिनेत्री पूजा शर्माले निर्माण गरेका हुन् । सुदर्शन थापा प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको मुख्य भूमिका छ ।
निर्माण टिमले जारी गरेको सूचना