फागुन १३ मा नआउने भयो ‘प्रेमगीत ३’, ओमिक्रोन त्रासले प्रदर्शन मिति स्थगित



काठमाडौं, पुस २०। नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शनमा नआउने भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्रासको कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित भएको छ । केही साताअघि मात्रै निर्माण टिमले फागुन १३ गतेका लागि प्रदर्शन मिति तय गरेको थियो ।

निर्माता एवं निर्देशक सन्तोष सेनले चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिए ।

‘हामीले प्रेमगीत ३ को पोष्ट प्रोडक्सनको काम नेपाल लगायत मुम्बईका दिग्गज टिमहरुबाट सम्पन्न गरेका छौं । यसको प्रदर्शन मिति फागुन १३ लाई लक्षित गरेर विभिन्न प्रचारप्रसार सामाग्री तयार भएसँगै दर्शकमाझ पस्कने तयारीमा थियौं’ सेनले भनेका छन्, ‘यसैक्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन् गर्दै सिनेमा घरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत अथवा विश्वभरी अलग–अलग मितीमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले हामी नअत्तालिकन यो अप्ठ्यारो परिस्थितिवाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्तावलाई स्वीकार गर्दै अनिश्चित कालको लागी प्रदर्शन मिति स्थगित गरेका छौ ।‘

०७६ चैतमा प्रदर्शनमा रहेको यो चलचित्रले त्यतिबेला पनि कोरोनाका कारण प्रदर्शन मिति स्थगित गर्नुपरेको थियो । छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका छ ।

चलचित्रमा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ ।