म मा अरुसँग प्रतिस्पर्धाको भावना छैन : रचना रिमाल



काठमाडौं । पछिल्लो पुस्ताका केही गायिकाहरु छन्, जसले सांगीतिक बजारमा राम्रो चर्चा कमाईरहेका छन् । उनीहरु गीत रेकर्डिङदेखि स्टेज कार्यक्रममा निकै ब्यस्त छन् । एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको ब्यस्तता सांगीतिक बजारमा निकै छ । यी तिनै गायिकाहरु पछिल्लो दुई वर्षयता चर्चामा आएका गायिकाहरु हुन् ।

सांगीतिक बजारमा यी गायिकाहरुबीच एकअर्कामा तिब्र प्रतिस्पर्धा रहेको समेत चर्चा सुनिन्छ । तर, गायिका रचना रिमाल आफ्नो कसैसँग प्रतिस्पर्धा नरहेको बताउँछिन् । र, आफूले कहिल्यै अरुसँग प्रतिस्पर्धाको भावना नराख्ने गरेको उनले बताईन् । ‘हुन त सबैले हेर्दा दाँजेर हेर्नुहुन्छ’ केही दिनअघिको भेटमा उनले भनिन्, ‘तर म अरुसँग प्रतिस्पर्धाको भावना नै राख्दिन् ।’

सबैले आफ्नो ठाउँमा राम्रो काम गरिरहेको बताउँदै रचनाले भनिन्, ‘मलाई अरुसँग भन्दा आफैसँग प्रतिस्पर्धा गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । म योभन्दा राम्रो हुन्छु भन्ने भन्दापनि म आफूलाई कसरी राम्रो बनाउने भन्ने कुराले अर्थ राख्छ जस्तो लाग्छ ।’ उनी आफूले पनि अरुसँग दाँजेर भन्दा आफ्ूले राम्रो कसरी गर्ने भनेर ध्यान दिने गरेको बताईन् । कुराकानीका क्रममा रचनाले आफूले स्रोता दर्शकबाट यो माया पाउँछु भनेर पहिले कल्पना समेत नगरेको बताईन् ।

नेपाल आइडल सिजन ३ मा भाग लिएपछि चर्चामा आएकी रचनाको पहिलो हिट गीत ‘फोटो फिरिममा’ हो । उक्त गीत सार्वजनिक भएको दुई वर्ष नपुग्दै उनले एक हजार बढी गीतमा स्वर दिईसकेकी छिन् ।