२१८ डिजिटल प्लेटफर्ममा ‘गुल्मेली हुम कर’, युटयुबमा सोमबार मात्रै



काठमाडौं, १६ पुस । नेपालमा गीतका भिडियोहरु सार्वजनिकका लागि युट्युब नै प्रमुख माध्यम मानिन्छ । अन्य प्लेटफर्मका माध्यमहरु भएपनि धेरैलाई ति प्लेटफर्मबार जानकारी पनि नहुन सक्छ । केही कलाकार तथा कम्पनीहरुले भने युट्युबमा भन्दा अगाडि आफ्नो गीतको अडियो तथा भिडियो पनि अन्य माध्यममा सार्वजनिक गर्दै आएका छन् ।

जसको पछिल्लो उदाहरण हो, सन्तोष केसीको गीत ‘गुल्मेली हुम कर’ । सर्जक तथा गायक केसीले शुक्रबार मात्रै आफ्नो नयाँ गीत ‘गुल्मेली हुम कर’को अडियो तथा भिडियो २१८ वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरेका छन् । युटयुबमा भने यो गीत सोमबार मात्रै सार्वजनिक हुनेछ । थापा भन्छन् ‘मेरो गीत ‘मोमो’ एप लगायत २१८ वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरेको छु । नेपालमा २ रुपैयाँ, भारतमा १ रुपैयाँ र अन्य देशमा ९९ पैसा डलर तिरेर हेर्न सक्नुहुनेछ ।’ उनले विगत तीन वर्षदेखि आफ्ना गीतहरु युट्युबमा सार्वजनिक गर्नुअघि यसैगरी अन्य डिजिटल प्लेटफर्ममा सार्वजनिक गर्दै आएको बताए ।

म्युजिक भिडियो निर्माण गर्दा महंगो लगानी लाग्ने र युट्युबबाट मात्र त्यो लगानी उठ्ने सम्भावना न्यून रहेकाले विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक गर्दा केही भएपनि राहत हुने उनले बताए । उनले यस गीतमा झण्डै पाँच लाख रुपैयाँ लगानी गरेका छन् । सन्तोषकै शब्द एवं संगीत रहेको गीतमा सन्तोषसँगै प्रीति आले र समीक्षा अधिकारीको स्वर छ ।

भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, नम्रता सापकोटा, हर्षिका श्रेष्ठ, सञ्चिता शाही, जसोधा कार्की, विक्रम बुढाथोकी, रमेश केसी, सन्तोष केसी, काजी सुन्दास र कृष्ण सापकोटाको अभिनय छ । क्रान्ति केसीको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलेले छायांकन, निराजन केसीले सम्पादन गरेका छन् । गीतलाई स्रोता एवं दर्शकले रुचाउने सर्जक एवं गायक केसी बताउँछन् ।

सन्तोषको संगीत रहेको नयाँ गीत ‘तिमी नै सहारा’ शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । लक्ष्मण भण्डारीको शब्द रहेको यस गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । भिडियोमा पल शाह र प्रकृति श्रेष्ठको अभिनय छ ।

भिडियो :