नोभेम्बर–डिसेम्बरमा युट्युबमा आए डेढ दर्जन नेपाली फिल्म



काठमाडौं । पछिल्लो समय युट्युबमा धमाधम नेपाली फिल्म सार्वजनिक भए । विशेषगरी पछिल्लो दुई महिना (नोभेम्बर–डिसेम्बर)मा झण्डै डेढ दर्जन नेपाली फिल्म युट्युबमा सार्वजनिक गरिएका छन् । अंग्रेजी नयाँ वर्षको समयमा विज्ञापन धेरै आउने हुँदा धेरैले नोभेम्बर–डिसेम्बरमा फिल्म युट्युबमा सार्वजनिक गर्ने गरेको जानकारहरु बताउँछन् ।

डिसेम्बरमा मात्र १० वटा नेपाली फिल्म युट्युबमा सार्वजनिक गरिएका छन् । त्यसमा केही पुराना फिल्म समेत छन् । डिसेम्बर २६ अर्थात् गत आइतबार नेपाली फिल्म ‘पसिना’ युट्युबमा सार्वजनिक गरिएको छ । डिसेम्बर २६ मै पुरानो फिल्म ‘विष’ युट्युबमा अपलोड गरिएको छ ।

सोमबार पुरानो नेपाली फिल्म ‘त्रिशूल’ युट्युबमा अपलोड गरिएको छ । नोभेम्बर २५ अर्थात् शनिबार अर्को पुरानो नेपाली फिल्म ‘धुर्वे’ युट्युबमा अपलोड गरिएको छ ।

त्यस्तै, डिसेम्बर २४ मा पहिले नै अपलोड भैसकेको नेपाली फिल्म ‘ब्लाइन्ड रक्स’ युट्युबमा पुनः अपलोड गरिएको थियो । डिसेम्बर २३ मा फिल्म ‘श्री’ युट्युबमा सार्वजनिक भएको थियो भने डिसेम्बर १९ मा फिल्म ‘मंगलम’ युट्युबमा सार्वजनिक गरिएको थियो । डिसेम्बर १९ मै ‘नाका’ पनि युट्युबमा अपलोड गरिएको छ । डिसेम्बर १४ मा फिल्म ‘कबड्डी ३’ युट्युबमा सार्वजनिक गरिएको थियो । त्यस्तै, त्यसअघि डिसेम्बर ६ मा नेपाली फिल्म ‘घामड शेरे’ युट्युबमा सार्वजनिक गरिएको थियो ।

नोभेम्बरमा पनि थुप्रै नेपाली फिल्म युट्युबमा सार्वजनिक गरिएको थियो । ‘पुरानो बुलेट’, ‘यात्रा’, ‘लम्फू’, ‘हजार जुनीसम्म’, ‘डाइङ क्याण्डिल’ लगायतका फिल्म नोभेम्बर महिनामा युट्युबमा सार्वजनिक गरिएका थिए ।