आधा दर्जन बढी गीत ल्याउने तयारीमा खनाल



काठमाडौं, पुस १३ । रामप्रसाद खनालले गायक, साहित्यकार, कलाकारसँगै पत्रकारका रूपमा ‘भर्सटायल’ व्यक्तित्वको छवि बनाएका छन् । विशेषगरी उनलाई टेलिभिजनमा लोकदोहोरीलाई स्थापित गराउने गायकको रुपमा लिईन्छ । नेपाल टेलिभिजनमा उनले संचालन गरेको ‘लोकदोहोरी’ कार्यक्रम निकै लोकप्रिय मानिन्छ । अहिले पनि उक्त कार्यक्रमलाई धेरैले सम्झने गर्छन् ।

मौलिक गीतमार्फत पनि स्रोता एवं दर्शकको मन जितेका खनाल झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका छन् । नेपाल छाडेर विदेशमा बस्न थालेपछि आफ्नो करियरलाई निरन्तरता दिने कमै हुन्छन् । ती कममध्येमा पर्छन् खनाल । उनले अमेरिका रहेर पनि आफ्नो गायन, साहित्य, पत्रकारिता यात्रालाई निरन्तरता दिइरहेका छन् । नेपाल आएको सन्दर्भमा उनले नयाँ–नयाँ गीत ल्याईरहेका हुन्छन् ।

खनाल यतिबेला नेपालमा छन् । दुई वर्ष अगाडि नेपाल आएको समयमा ५ वटा गीत ल्याएर फर्किएका खनाल यसपटक आधा दर्जन बढी गीत सार्वजनिक गरेर फर्किने बताउँछन् । ‘७ वटा गीतहरू तयार गरेको छु । ति गीतहरु रेकर्ड गर्ने तयारीमा छु’ उनले भने ‘म सबै फ्लेवरका गीत लेख्छु, गाउँछु । यसपटक पनि लोकगीत, दोहोरी गीत, भजन इत्यादि छन् ।’

खनालले १२ सय बढी गीतमा स्वर दिएका छन् । उनका ४८ वटा एल्वम बजारमा आइसकेका छन् । ‘छाता ओझेल पारिदेउ बर्खे झरीमा’, ‘देउरालीमा पिपल छायाँले, दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘गुल्मी झरेर’, ‘मेरै माया’, ‘माया गाँसौ न’ लगायतका गीत उनका निकै लोकप्रिय गीत हुन् ।