चर्चामा ‘काफल कमला’



काठमाडौं, पुस १२ । पछिल्लो केही दिनयता ‘काफल कमला’बोलको गीत चर्चामा छ । गत बुधबार गीतको नयाँ भर्सनको भिडियो सार्वजनिक गरिएको हो । केही वर्ष अगाडि नै स्रोताहरुले निकै रुचाएको गीतको नयाँ भर्सनमा गायिका अस्मिता अधिकारीको स्वर छ । उनलाई गायनमा जनक ताम्राकारले साथ दिएका छन् ।

महेश ताम्राकारको शब्द तथा संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा पछिल्लो समयकी लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काको अभिनय छ । साथमा अभिनेता निश्चल बस्नेत विशेष भूमिकामा देखिएका छन् । असिम शाहले यस गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोसहित गीत सार्वजनिक भएसँगै स्रोता दर्शकले निकै रुचाएका हुन् । टिकटकमा यो गीत यतिबेला राम्रैसँग छाएको छ । युट्युबमा पनि गीतले राम्रो भ्युज पाईरहेको छ ।

पाँच दिनमा सोमबार बिहानसम्म १३ लाख ३५ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेण्डिङको तेस्रो स्थान ओगटेको छ । गायिका अस्मिताले गीतबाट पाएको राम्रो प्रतिक्रियाका लागि स्रोता–दर्शकलाई धन्यवाद दिएकी छन् । भिडियोलाई सौरभ लामिछानेले छायांकन तथा सम्पादन गरेका हुन् ।