करोड क्लबमा प्रकाशको ह्याट्रिक, ‘जाम भो माइली’लाई एक करोड बढी हेरियो



काठमाडौं, पुस ९ । सर्जक तथा गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनका तीन गीतले युट्युबमा एक करोड भ्युज पार गरेका हुन् ।

यसअघि ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिएकोमा शुक्रबारमात्रै उनको अर्को गीत ‘जाम भो माइली’ले युट्युबमा करोड बढी भ्युज पार गरेको छ । शुक्रबार साँझसम्म यस गीतको भ्युज १ करोड ५० लाख छ । ‘जाम भो माइली’ प्रकाशले दुई महिना अगाडि मात्रै सार्वजनिक गरेका थिए । आफ्नै शब्द तथा संगीत रहेको यो गीतमा प्रकाश र शान्तिश्री परियारको स्वर छ ।

मौसम हिमालीको कथा तथा निर्देशनमा बनेको भिडियोमा प्रकाश आफैंले अभिनय गरेका छन् । उनको साथमा रोशनी कार्की र निक शर्माको अभिनय छ ।
अनिल के. मानन्धरको छायाँकन रहेको ‘जाम भो माइली’को भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

म्याग्दीका प्रकाश सांगीतिक क्षेत्रमा पछिल्लो समयका लोकप्रिय कलाकार हुन् । हल्लाखल्लाबीना नै उनका एकपछि अर्को गीतले स्रोता दर्शकको मन जितिरहेका छन् । मौलिकतामा ध्यान दिने भएका कारण पनि उनका गीतलाई स्रोता दर्शकले रुचाउँदै आएका छन् । उनका ‘आरने’, ‘चोली मैलै भो’ लगायतका अन्य गीतलाई पनि स्रोता–दर्शकले रुचाएका छन् ।