चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माणको घोषणा



काठमाडौं पुस ६ । नेपाली चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माण हुने भएको छ । तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ निर्देशन गर्न लागेको घोषणा गरेका हुन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायाँकन गरिने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् । ‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहनेछ । त्यस्तै सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल लगायतको समेत चलचित्रमा शीर्ष भूमिका रहनेछ । यस्तै गीत–संगीत दयाराम दाहाल र हरि भूषालको रहनेछ भने छायाँकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन् ।
‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा– २ घोषणा गरेको छु’ लेखन तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महाकारीले गर्दा संकटमा परेको चलचित्र क्षेत्रमा नयाँ उर्जा र आधार दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ ।’

वरिष्ठ कलाकार सुवास गजुरेलले दी प्रेमपूजा–२ विदेशमा छायाँकन गर्ने भनिए पनि मूल कथावस्तु नेपाली समाज र संस्कृति रहने बताए । उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय चलचित्र बनाउन सक्यो भने नेपाली चलचित्रको उत्थान हुन्छ ।

प्रेमपूजाले त्यो पुरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’ तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन् ।