दोहोरीगीत प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभा


काठमाडौं, पुस ५ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार र शनिबार प्रतिष्ठानको स्थापना स्थल नवलपुर अरुणखोलास्थित जनता माविमा साधारण सभा गरिएको हो । २०५७ सालमा यहिबाट प्रतिष्ठानको स्थापना भएको थियो ।

साधारण सभामा थुप्रै व्यक्तिहरुलाई सम्मान गरिएको थियो । अग्रज लोकसंगीत श्रष्टा राष्ट्रिय सम्मानबाट सुदुरपश्चिमका देउडा गायक अग्रज श्रष्टा नरेन्द्रराज रेग्मी, सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँणेल, लोक पत्रकारिता सम्मानबाट पोखराका पत्रकार राजाराम पौडेल, राष्ट्रिय श्रष्टा सम्मानबाट रामप्रसाद खनाल, लोकसंस्कृति विद्यावारिधि सम्मान तुलसी प्रभासलाई सम्मान गरियो ।

राष्ट्रिय लोक स्रष्टा सम्मानबाट सम्मानित हुँदै लोकदोहोरी गायक रामप्रसाद खनाल।

यसैगरी संस्थापक कार्यसमिति तथा संस्थापक सल्लाहकारसंगै प्रतिष्ठानको स्थापनामा सघाउने तथा २१ औं साधारण सभालाई भव्य बनाउन सहयोग गर्ने विभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । साधारण सभामा उत्कृष्ट प्रदेश शाखामध्ये लुम्बिनी प्रदेश तथा उत्कृष्ट जिल्ला शाखा मध्येबाट रुपन्देही जिल्ला शाखालाई पुरस्कृत गरिएको थियो ।

साधारण सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित थिए । उनीसँगै नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर राना, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी लगायतले सम्मान्नित हुने व्यक्तिलाई सम्मान गरेका थिए ।

साधारण सभामा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्रि पंगेनी र वर्तमान अध्यक्ष रमेश बिजीलाई सम्मान गर्दै सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गराइएको थियो ।

लोकदोहोरीका चर्चित कलाकारहरुको भव्य प्रस्तुती समेत रहेको थियो । पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, खुमन अधिकारी, रामजी खाँड, प्रकाश समुत, पुष्कल शर्मा, कुशल वेलवासे, शंकर बिसी, सम्झना लामिछाने, टिका जैसी, अञ्जली अधिकारी, रविना भण्डारी, रिना थापा  लगायतले आआफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष रमेश विजीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रिता थापाको स्वागतमा भएको साधारणसभाको औपचारिक कार्यक्रम महासचिव सुवास केसीले सञ्चालन गरेका थिए । सबै कलाकारलाई प्रतिष्ठानको स्थापना र स्थापनास्थलका बारेमा जानकारी होस् भन्ने हेतुले नवलपुरमा साधारण सभा गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश विजीले जानकारी दिए ।