रहेनन् वरिष्ठ रंगकर्मी प्रचण्ड मल्ल


तस्वीर : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको फेसबुक पेजबाट


काठमाडौं, पुस २ । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका मल्लको शुक्रबार निधन भएको हो । उनको शुक्रबार दिउँसो २ बजे उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्याईएको थियो ।

मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए ।
मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । उनले थुप्रै नाटकको निर्देशन, लेखन एवं नाटकमा अभिनय समेत गरेका छन् । बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले रंगमञ्चको यात्रा शुरु गरेका थिए ।

उनले ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’जस्ता थुप्रै नाटकको कुशल निर्देशन गरेका थिए ।

उनलाई धेरैले नेपाली रंगमञ्चका एक भीष्म पितामहका रुपमा उल्लेख गर्दै श्रद्धाञ्जली दिएका छन् ।