‘नेपाल मिडिया अवार्ड’ सँग जोडियो अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लु चिप’



काठमाडौँ। नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा एक अन्तर्राष्ट्रिय कम्पनी जोडिएको छ । लाइफ इन्स्योरेन्स करर्पोरेसन लि. मुख्य प्रायोजक रहेको यो अवार्डमा दुबईमा रहेको ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ सह-प्रायोजकको रुपमा आबद्ध भएको हो । हालै अवार्डका आयोजक संस्था ड्रिम हाइ नेपाल प्राली र ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दुबइमा ट्रेडिङ विजनेश लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ ले बलिउड र साउथका कयौं फिल्ममा समेत लगानी गरेको छ । ‘ब्लु चिप’ का सिइओ रविन्दरनाथ सोनीले नेपालमा हुने अवार्ड कार्यक्रममा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न लागेको पनि उनले जानकारी दिए । अवार्डमा सहभागी हुन उनीसहितको टिम नेपाल आउने तयारीमा छ ।

‘ब्लू चिप एफएक्स’ र ‘लालचन बिल्डर्स’ (सोम लालचन) ले पनि सहकार्य गरेको ‘नेपाल मिडिया अवार्ड’ को कार्यक्रम निर्मात्रीमा पुनम यादव रहेकी छन् । उनले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छिन् । उनले नेपालको अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आफूहरुको योजना रहेको बताइन् । उनी अवार्ड कार्यक्रमलाई स्तरीय र भव्य बनाउन कुनै कसर नछाड्ने बताएकी छन् । त्यस्तै, ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले ‘ब्लूचिप’ सँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघसँगको सहकार्यमा आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापा माध्यम, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत संचार माध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतीलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रमुख कमल जिसिले जानकारी दिएका छन् । यो अवार्डसँग होटल एशोसियन स्पोन्सरको रुपमा ‘डबल ट्रि बाई हिल्टन’ पनि जोडिएको छ ।