‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा, पहिलो दिन नै ट्रेन्डिङमा उक्लियो



काठमाडौं, मंसिर २८ । ब्लकबष्टर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक गरिएको छ ।

वि.स. २०७६ को असोजमा हलमा प्रदर्शनमा आएको चलचित्र मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । मंगलबार दिउँसो युुट्युबमा सार्वजनिक चलचित्रको भ्युज निकै तिव्र रुपमा बढिरहेको छ । मंगलबार साँझसम्म चलचित्र युट्युब ट्रेन्डिङमा समेत उक्लिसकेको छ ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै, पुश्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल लगायतका कलाकारहरुको समेत अभिनय छ । यो चलचित्रले हलमा निकै राम्रो ब्यापार गरेको थियो ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको स्क्रिप्ट रहेको चलचित्रको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार छन् । ‘कबड्डी’का हरेक सिरिज व्यवसायिक रुपमा सफल छन् ।

‘कबड्डी’को चौथौ सिरिज यतिबेला निर्माणको क्रममा छ । चलचित्रको छायाँकन केही दिन अगाडि मात्रै सकिएको छ ।