किम्फ मंसिर २३ देखि २७ सम्म काठमाडौंमा हुँदै



काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी फिल्म अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितीमा देखाइने भएको छ ।

कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकाले यसपटकको किम्फ हाइब्रिड शैलीमा गर्न लागिएको हो । यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ ।

उक्त उपशीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको जनाइएको छ ।

किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण (किनोट) प्रस्तुत हुने भएको छ । चर्चित बलिउड फिल्म ‘थ्री इडियट्स’ सोनमकै जीवनमा आधारित रहेको बताइन्छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितिय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजारको पुरस्कार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

यसपटकको संस्करणमा फिल्म निर्माता, फिल्मप्रेमी, समीक्षक, विद्धान, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितीमा छलफल, व्याख्यान र तस्बिरहरुको प्रदर्शनी र कलार परियोजना संचालन हुने भएका छन् ।

किम्फका अध्यक्ष बसन्त थापाले महोत्सवमा देखाइने फिल्म र यसमा समाविष्ट कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाको बारेमा हुने संवादमा संलग्न गराउने बताए ।

हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फ २०२१ को सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ ।