एकैदिन आए दुई दर्जन बढी म्युजिक भिडियो


काठमाडौं, मंसिर १८ । दिनमा कतिवटा म्युजिक भिडियो सार्वजनिक होलान ? अनुमान लगाउनुहोला ५–७ वटा । गत शुक्रबार भने दुई दर्जन बढी म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्रेमराजा महतले नेपाल आएको समयमा तयार पारेको गीत ‘बन्दिपुरैमा’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरे ।

प्रेमराजा महत र शान्तीश्री परियारको स्वर रहेको गीतको म्युजिक भिडियोमा प्रेमराजा र मोडल रञ्जिता गुरुङले अभिनय गरेका छन् । प्रेमराजाकै शब्द एवं संगीत रहेको गीतको भिडियोलाई गायक एवं चलचित्र निर्देशक नारायण रायमाझीले निर्देशन गरेका हुन् ।

रानी शाक्य र कृष्ण भारद्धाजको स्वर, अभिनेता भुवन केसी र श्रृष्टि खड्काको अभिनय रहेको ‘घरमा आइस्योस् न’ बोलको गीतको भिडियो शुक्रबार नै सार्वजनिक गरियो । दिवेश राईको स्वर, प्रकाश सपूत र सगुन शाहीको अभिनय रहेको कविता ‘तरुनी बन्दिपुर’को भिडियो शुक्रबार सार्वजनिक गरियो ।

‘भुल्ने छैन्’ बोलको गीतको भिडियो शुक्रबार युट्युबमा आयो । एलिना चौहानको स्वर रहेको गीतको भिडियोमा एलिना चौहान, आमेश भण्डारी, मौसमी खनाल लगायतको अभिनय छ ।

राजेशपायल राईको स्वरमा दयाहाङ राई, पशुपति राईको शीर्ष भूमिका रहेको ‘आमा’बोलको गीतको भिडियो शुक्रबार नै युट्युबमा आएको छ ।

दुर्गा खरेल र सरोज सुजन श्रेष्ठको स्वर तथा प्रिज्मा–प्रिन्सी खतिवडा, अमर–अमृत दाहालको अभिनय रहेको ‘छल छल’बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरियो ।

सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर तथा आकाश श्रेष्ठ र आँचल शर्माको अभिनय रहेको ‘माया गरिदेउन’ शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ ।

त्यस्तै, मेलिना राई र मिलन अर्यालको स्वर तथा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको ‘झुम्कावाली’ शुक्रबार नै सार्वजनिक गरिएको छ ।
शुक्रबार गायिका मेलिना राईको ‘तिम्ले बाटो बाटो फेर्यौ अरे ३’ युटयुबमा सार्वजनिक गरिएको छ । ‘तिम्ले बाटो बाटो फेर्यौ अरे’ मेलिनाको हिट गीत हो । ‘तिम्ले बाटो बाटो फेर्यौ अरे ३’को भिडियोमा दर्पण राई र सम्झना राई फिचर्ड छन् । मेलिनालाई पनि भिडियोमा फिचरिङ गरिएको छ ।

गायक कमल खत्रीले आफ्नो गीत ‘माया नै काफी छ’ शुक्रबार नै सार्वजनिक गरे । कमल र ग्रिष्मा खडकाको स्वर रहेको यस गीतको भिडियोमा उनीहरु नै फिचरिङ छन ।

शुक्रबार ‘चाईनिज पिलेट’बोलको गीतको भिडियो सार्वजनिक गरियो । मेलिना राई र अन्सल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा सरोज राना प्रजा र विना राउत फिचरिङ छ ।

‘तिम्रा यादहरु’ बोलको गजल गीतको भिडियो शुक्रबार सार्वजनिक छ । ठानेश्वर गौतमको स्वर रहेको यस गजल गीतको भिडियोमा ठानेश्वरसँगै रोहन नेपाली, अल्का सुवेदी, सलिना खत्री, सुरज पोखरेल देखिएका छन् ।

पुष्प खड्का र मीना कार्कीको अभिनय रहेको ‘फुर्के रिबन’बोलको गीतको भिडियो पनि शुक्रबार सार्वजनिक गरिएको छ । यो गीतमा ऋषि खडका र मिना कार्कीको स्वर छ ।

विशाल निरौला र प्रविशा अधिकारीको स्वर, दुर्गेश थापा र सिम्रन थापाको अभिनय रहेको ‘तिमी नै हौ जिन्दगी’ शुक्रबार सार्वजनिक गरिएको छ ।

शिरीष देवकोटा र शान्तीश्री परियारको स्वर तथा दीक्पाल कार्की र जुना सुन्दासको अभिनय रहेको ‘सर्वस्व चाँदीको चौघेरो’ शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ ।

शुक्रबार ‘चिठ्ठी खाममा छ’बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक छ । गणेश अधिकारी र विपना रोका क्षेत्रीको स्वर रहेको यसको भिडियोमा काजिश श्रेष्ठ, लोमश शर्मा, गीता ढुंगाना, यशु भट्टराई देखिएका छन् । शुक्रबार यी बाहेक अन्य केही गीतका भिडियोहरु समेत युट्युबमा  सार्वजनिक गरिएको छ ।

शुक्रबार किन धेरै म्युजिक भिडियो आउँछन् ?
हरेक दिनजसो नयाँ नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक हुन्छन् । त्यसमा शुक्रबार सार्वजनिक हुने म्युजिक भिडियोको संख्या तुलनात्मक रुपमा धेरै हुन्छ । गत शुक्रबार मात्र होइन् अगाडिका शुक्रबार पनि धेरै संख्यामा म्युजिक भिडियोहरु सार्वजनिक भईरहेका थिए ।

शुक्रबार किन धेरै म्युजिक भिडियो सार्वजनिक हुन्छन् ? निर्देशकहरु बिदालाई लक्षित गरेर धेरै म्युजिक भिडियो शुक्रबार सार्वजनिक गर्ने गरिएको बताउँछन् । शुक्रबार कार्यालय चाँडो बिदा हुन्छ । शनिबार सार्वजनिक बिदा हुन्छ । बिदामा मानिसहरु गीतसंगीत हेर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने गरेका कारण धेरैले शुक्रबार भिडियो सार्वजनिक गर्ने गरेको निर्देशकहरुको भनाई छ ।

गीतसंगीत नेपालमा मात्र नभई बाहिर पनि हेरिने र बाहिर शनिबार र आइतबार बिदा हुने भएकाले पनि धेरैले म्युजिक भिडियो सार्वजनिकका लागि शुक्रबार नै रोज्ने गरेको निर्देशकहरुको धारणा छ । निर्देशक काजिश श्रेष्ठले नेपाल र बाहिरको बिदालाई लक्षित गर्दै धेरैले बिहीबार र शुक्रबार भिडियो सार्वजनिक गर्ने गरेको बताए । त्यसमा पनि संख्यात्मक हिसाबले शुक्रबार नै धेरै भिडियोहरु सार्वजनिक हुने गरेको काजिश बताउँछन् । पहिलेको सन्दर्भमा यस्तो नरहेपनि पछिल्ला केही वर्षयता भिडियो धेरै बन्न थालेसँगै धेरैले शुक्रबार सार्वजनिक गर्ने परिपाटी बढेको काजिशले बताए ।

शुक्रबार सार्वजनिक गीतमध्ये अधिकांशको प्रारम्भिक भ्युज भने  खडेरी देखिएको छ । अधिकांश गीतहरुको भ्युज निकै कम देखिएको छ ।