करिश्मा मानन्धरले पास गरिन कक्षा १२


काठमाडौं, मंसिर १७ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा करिश्मा २.४१ जीपीए ( ‘बी’ ग्रेड) सहित कक्षा १२ पास भएकी हुन् ।

करिश्माले गोदावरीस्थित घर नजिकैको किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । कोरोना महामारीका कारण नियमित कक्षा नभएको भन्दै नतिजाबाट आफू खुशी रहेको करिश्माले प्रतिक्रिया दिएकी छिन् । उनले आफूले धेरै तयारी नगरी परीक्षा दिएको बताउँदै आशा गरेअनुसारकै नतिजा आएको बताईन ।

उनले अब स्नातक तहमा भर्ना भएर पढाइलाई निरन्तरता दिने बताइन् । स्नातकमा ग्रामीण विकास मूल विषय लिएर पढ्ने उनले ईच्छा व्यक्त गरेकी छिन् । कक्षा १२ उत्तिर्ण भएसँगै उनलाई चलचित्र क्षेत्रका थुपैले बधाई दिएका छन् । पढाईलाई उमेरले छक्दैन भन्ने कुरा उनले प्रमाणित गरेको थुप्रैले उल्लेख गरेका छन । उनलाई धेरैले प्रेरणाको स्रोत पनि भनेका छन् । चलचित्र क्षेत्रमा व्यक्त बन्नुपरेका कारण उनले आफ्नो पढाईलाई बिचमै छाडनुपरेको थियो । उनले कक्षा ८ मा भर्ना भएर आफ्नो रोकिएको पढाईलाई अगाडि बढाएकी थिइन् ।

यसैगरी पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले पनि कक्षा १२ पास गरेकी छिन् । रचनाले ३.४४ जीपीए ( ‘ए’ ग्रेड) सहित कक्षा १२ पास गरेकी हुन् । उनले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी थिइन् । रचनाले आफूले सोँचेभन्दा राम्रो अंक आएको बताएकी छिन् ।

उनले अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने सोँच बनाएकी छिन् । अध्ययनलाई प्राथमिकता दिँदै सांगीतिक करिअरलाई अगाडि बढाउने रचनाले बताइन् । उनले केही दिनअघि संगीत गुरु चण्डिप्रसाद काफ्लेसँग औपचारिक संगीत शिक्षाको आरम्भ पनि गरेकी छिन ।