‘ओभरडोज’’लाई लिएर उत्साहित छु: अभिनेता पन्त



काठमाडौँ। आउँदो शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन् ।

‘एकदमै मेहनत गरेको थिए । सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु’ पन्तले भने । उनको यो पहिलो चलचित्र हो । उनले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताए । ‘पहिले घरबाट सपोर्ट थिएन् । बाहिर गएपछि अभिनयको बाटो खुल्यो’ उनले भने । राम्रो चलचित्रबाट अफर आए सधै काम गर्न तयार रहेको समेत बताए । अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाँकन गरिएको छ । सुमन पौडेलको कथा एवं निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ । अभिनेता पन्तले चलचित्रमा फ्रेण्डसिप र धोकाको कथा पनि देखाईएको बताए ।

चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन् । गुच्ची भाईको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जि.जि.ए ग्रुपले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।