हलमा ‘फ्लप’ चलचित्रलाई युट्युबमा उत्साहजनक भ्युज



काठमाडौं, मंसिर १४ । हलमा प्रदर्शन हुँदा राम्रो दर्शक नपाएका चलचित्रले युट्युबमा भने उत्साहजनक भ्युज र प्रतिक्रिया पाउने गरेका छन् ।

तीन साता अगाडि युट्युबमा सार्वजनिक ‘पुरानो बुलेट’ले हलमा दर्शक तान्न सकेको थिएन् । भिषण राई निर्देशित यो चलचित्रलाई युट्युबमा भने मंगलबार साँझसम्म झण्डै ३५ लाख पटक हेरिसकिएको छ । ०७५ चैतमा हलमा प्रदर्शनमा आएको चलचित्रमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु लगायतको अभिनय छ ।

त्यस्तै, दुई साताअगाडि युट्युबमा सार्वजनिक चलचित्र ‘यात्रा’लाई पनि दर्शकले रुचाएका छन् । ०७५ चैतमा हलमा प्रदर्शनमा आएको चलचित्रले लगानी सुरक्षित गर्न सकेको थिएन् । युट्युबमा भने चलचित्रलाई मंगलबार साँझसम्म ३८ लाख बढीले हेरिसकेका छन् । सम्राट शाक्यको कथा एवं निर्देशन रहेको चलचित्रमा सलिनमान बनियाँ र मलिका महत मुख्य भूमिकामा छन् । त्यस्तै सलोन बस्नेत, धिरेन शाक्य, रेअर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत लगायतको पनि चलचित्रमा अभिनय छ ।

दुई साता अगाडि नै युट्युबमा सार्वजनिक चलचित्र ‘लम्फू’ले उत्साहजनक भ्युज पाएको छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको यो चलचित्रलाई युट्युबमा १८ लाख बढी पटक हेरिएको छ । चलचित्रमा कविर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, कुसुम श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । २०७५ सालको बैशाखमा हलमा प्रदर्शनमा आएको चलचित्र हेर्न दर्शकको उपस्थिति न्यून थियो ।

आईतबारमात्रै युट्युबमा सार्वजनिक चलचित्र ‘हजार जुनीसम्म’ले दुई दिनमै १८ लाख बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङ १ को स्थान ओगटन सफल छ ।
विकाशराज आचार्यको निर्देशन रहेको यो चलचित्र ०७६ साउनमा सिनेमाहलमा प्रदर्शनमा आएको थियो । चलचित्रले हलबाट लगानी सुरक्षित गर्न सकेको थिएन् ।
यो चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, अखिलेश प्रधान, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीको मुख्य भूमिका छ ।

सिनेमा हलमा दर्शक तान्न नसकेका चलचित्रले युट्युबमा भने राम्रो भ्इुज पाउने गरको छन् । चलचित्रलाई प्रतिक्रिया समेत सकारात्मक मिल्ने गरेको छ ।