‘जाम भो माईली’लाई यति धेरै रुचाउनुहोला सोँचेको थिइन् : प्रकाश दूतराज


मंसिर ११, काठमाडौं । लाहुर जाने रेलैमा
                                      जाम भो माईली सरर
पछिल्लो महिना यो गीत निकै चल्यो । युट्युबदेखि, टिकटकलगायतका सामाजिक सञ्जालमा यो गीत निकै रुचाईएको छ । युट्युबकै कुरा गर्दा शनिबारसम्म यस गीतको भिडियोलाई ८२ लाख ३० हजार बढी पटक हेरिसकिएको छ ।

गीतका सर्जक, गायक एवं मोडलसमेत रहेका प्रकाश दूतराज ‘जाम भो माइली’लाई स्रोता एवं दर्शकले यति धेरै रुचाउने आफूले नसोँचेको बताएका छन् ।

भिडियो सार्वजनिक गरेको चार दिनपछि प्रकाश गाउँ फर्किएका थिए । त्यतिञ्जेलसम्म भिडियोको भ्युज २ लाख ५० हजार आसपास थियो ।
तर, त्यसको पाँच दिनपछि गीतको माहोल अर्कै भएको थियो । प्रकाशले सम्झन्छन्, ‘सामाजिक सञ्जालतिर गीत भाइरल भईसकेको थियो । युट्युबमा भ्युज पनि ह्वात्तै बढेको थियो ।’

प्रकाश गीतलाई स्रोता दर्शकले रुचाएकोमा निकै खुशी लागेको बताउँछन् । उनी यो गीत अलि पुरानो खालको भएपनि नयाँ पुस्ताले समेत रुचाएकोमा एकदमै खुशी लागेको सुनाउँछन् । ‘यो अलि पुरानो खालको गीत हो । पुरानो पुस्ताले मन पराउने क्याटगोरीको गीत हो । तर तपाईं–हाम्रो उमेरकाले पनि त्यसलाई चाहेको, रुचाएको देख्दा एकदमै गर्व महसुस हुने रहेछ’ प्रकाशले अगाडि भने, ‘यसबाट नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउनुहुदोरहेछ भन्ने महशुस भयो ।’

मौलिक शब्द, मौलिक भाकामा गाउँघरको परिवेशमा रहेर गीत तयार पारिएको छ । गीतले मनोरञ्जनमात्र होइन्, चेलिबेटी बेचबिखनविरुद्धको कथा समेत उठाएको छ । ‘जाम भो माईली’ मा प्रकाश र शान्तीश्री परियारको स्वर छ । मौसम हिमालीको निर्देशनमा तयार भिडियोमा प्रकाशसँगै रोशनी कार्की र निक शर्माको अभिनय हेर्न सकिन्छ ।

प्रकाश पछिल्लो छिमलका रुचाईएका सर्जक एवं गायक हुन् । उनका यसअगाडिका ‘बैनी झ्यालैमा‘’, ‘चोली मैलो भो‘, ‘घर कता हो बैनीको ?’ गीतलाई स्रोता एवं दर्शकले निकै रुचाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.