काठमाडौं। चलचित्र ‘गोर्खा वारियर २’ को बाँकी छायाँकन सिन्धुलीबाट सुरु गरिएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गरेर बिहिबारबाटै यो चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक मिलन चाम्स बिहिबार त्यहाँ पुगेका हुन् ।
गत बैशाख अघि यो चलचित्रको ४० प्रतिशत छायाँकन सम्पन्न भएको थियो । अब नेपालको बाँकी छायाँकन सिन्धुली र तनहुँमा गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।
चलचित्रमा युद्धको छायाँकनका लागि आबस्यक पात्रका रुपमा गत महिना अडिसनबाट ३४ जना कलाकार चयन गरिएको थियो । ती सहित अहिले छायाँकनमा मुख्य अभिनेता रितेश चाम्स र बिजय लामा रहेका छन् ।
‘गोर्खा वारियर २’ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले’ यो चलचित्रबाट डेब्यु गर्दै छन् ।
यो चलचित्रको सिन्धुलीको छायाँकन सेड्युल करिब तीन साता राखिएको निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । सिन्धुलीमा चलचित्रका युद्ध लगायतका दृष्यहरु छायाँकन गर्न लागिएको पनि निर्देशक चाम्सले जानकारी गराए । सिन्धुलीको सेड्युल सम्पन्न गरेपछि यो चलचित्रको युनिट बाँकी छायाँकनको लागि तनहुँ जाने भएको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ । सिन्धुली र तनहुँको छायाँकन सेड्युल सकेर चलचित्रको युनिट बाँकी छायाँकनको लागि बिदेश लाग्ने छ । बिदेश अन्तर्गत बेलायत, भारत, मलेशिया लगायतका देशमा ‘गोर्खा वारियर २’ को छायाँकन गरिने छ ।
‘गोर्खा वारियर २’ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।
चलचित्र ‘गोर्खा वारियर’ को छायांकन गर्न केही ढिला हुने भएकाले आफुले ‘गोर्खा वारियर २’ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि ‘गोर्खा वारियर २’ रिलिज भएपछि मात्र ‘गोर्खा वारियर’ को निर्माण सुरु हुने छ ।