इजिप्टको महोत्सवमा नेपालको लोकधुन



काठमाडौँ। इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’ मा नेपाल पहिलो पटक सहभागी भएको छ । अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा चारजनाको टोली इजिप्ट पुगेको छ ।

टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादलवादक नरेश प्रजापति सहभागी छन् । महोत्सवमा नेपालसहित मेक्सिको, जोर्डन, अजरबैजान, प्यालेस्टाइन, इन्डोनेसिया र इजिप्टका सात समूह सहभागी छन् ।

‘गार्डेन अफ इजिप्ट’ भनेर चिनिने सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले भव्य समारोहका बीच महोत्सव उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा सहभागी सबै मुलुकको झन्डा फहराइएको थियो भने स्टेजमा आआफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपास गरेका थिए । उद्घाटन समारोहमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गरेका थिए ।

‘इस्मालियाफोकलोर फेस्टिभलमा नेपाल पहिलो पटक सहभागी भएको हो’, नेपालको प्रतिनिधित्व गरेका सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले भने, ‘विश्व प्रसिद्ध यस महोत्सवमा नेपाल प्रतिजुन आकर्षण देखिएको छ यसले हामीलाई अझ उत्साहित बनाएको छ । नेपालको प्रस्तुति सहभागी मुलुकका लागि जति चासोको विषय बनेको छ त्यत्तिकै रोमाञ्चकारी पनि मानेका छन् ।’