‘सत्यम्’मा पलसँग मलिका महतको जोडी



काठमाडौं। अभिनेत्री तथा मोडल मलिका महतले नयाँ चलचित्र साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । चलचित्रमा उनको जोडी पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक चलचित्रमा एकसाथ काम गर्न लागेको हो ।

चलचित्र ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले यसपछि चलचित्र ‘पानीफोटो’ मा काम गरेकी थिइन् । यो चलचित्र प्रदर्शनमा आउन बाँकी छ । कोरोनाकालमा अभिनय गरेको म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी उनको यतिबेला चलचित्र र म्यूजिक भिडियोमा ठूलो माग छ । ‘सत्यम्’ को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनी काम गर्नका लागि राजी भएकी हुन् ।

उनी पहिलो पटक चलचित्रमा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् । यो चलचित्रबाट आफूले धेरै कुरा सिक्न पाउने उनको विश्वास छ । शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह-निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’ छन् ।

चलचित्रको प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह-निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् भने रामजी लामिछाने कोरियोग्राफी गर्नेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र रामशरण कोइराला छन् । चलचित्रको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ ।

‘सत्यम’मा दक्षिण भारतिय चलचित्रहरुमा उदाईरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहने बताईएको छ । निर्माता सापकोटाका अनुसार यो चलचित्रबाट सिजापतिले नेपाली चलचित्रमा डेब्यू गर्दैछन् । सिजापति नेपालमा फिजिकल मोटिभेशनल ट्रेनरको रुपमा परिचित छन् । उनले दक्षिण भारतिय सुपरस्टार अभिनेता गोपीचन्दको एक चलचित्रमा नेगेटिभ भुमिकामा अभिनय गरिसकेका छन् भने अन्य दक्षिण भारतिय चलचित्रहरुमा अभिनय गर्दैछन् ।

यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । यि सबै कलाकारहरु अडिशनबाट छानिएका हुन् ।