कात्तिक दोश्रो साताबाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने



काठमाडौँ। विश्वका १ सय १३ देशमा फ्रेन्चाइज शोको रुपमा संचालन भैरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिकको दोश्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभीबाट यो शो प्रशारण हुने जानकारी दिइएको छ । ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ बर्ष उमेर भित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ बर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् । ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पुर्याउनका लागि यो शो तयार पारेको बताए । उनले, बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर शो तयार पारिएको बताए ।

कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभुती भैरहेको सुनाए । उनीहरुले, बालबालिकालाई आफूहरुले मुल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए ।