सुटिङकै क्रममा कलाकार केसीको निधन



काठमाडौँ। कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन ।’ उनी बिहानै सिरियल ‘हर्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाटक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र चलचित्र समेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए । वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् ।