भिडियोको बौद्धिक सम्पत्तिको संरक्षण गर्दै म्यूजिक भिडियो निर्देशक समाज



काठमाडौँ । नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका बिभिन्न श्रृजनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल कदमी अगाडी बढाउने निर्णय गरेको छ । भदौ ३१ गते समाजको केन्द्रिय कार्यालय मालिगाउँ, काठमाण्डौमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिलिपि अधिकारको सुरक्षाको लागि समाजले कार्यबिधि बनाएर सम्वन्धित पक्षहरुसंग सहकार्य गरि अघि बढ्ने गरि निर्णय भएको समाजका महासचिव सुव्रत राज आचार्यले बताए । ‘विश्वभरी सार्वजनिक स्थानहरु जस्तैः क्याफे—रेष्टुराँ, बार तथा क्लवहरु, सार्वजनिक यातायात, एअरपोर्ट, बसपार्क, सार्वजनिक कन्सर्ट-कार्यक्रमहरु, हवाईजहाज लगायतमा नेपाली म्यूजिक भिडियोहरु प्रदर्शनी हुन्छ भने त्यसबापत सर्जकहरुले प्राप्त गर्नुपर्ने बौद्धिक सम्पत्ति अन्तर्गतको अधिकार पाइरहेको अवस्था छैन । त्यसकारण म्यूजिक भिडियो निर्देशक समाजको अगुवाईमा नेपालका सम्पूर्ण भिडियो निर्देशक, कोरियोग्राफर तथा छायांकारहरुको बौद्धिक सम्पत्ति रक्षार्थ यो निर्णय गरिएको हो’, आचार्यले बताए । साथै यो कामबाट म्युजिक भिडियोका सर्जकहरुको अधिकार सुनिश्चित भई आर्थिक लाभ प्राप्त हुने र यो निर्णय ऐतिहासिक हुने महासचिव आचार्यको दाबी छ ।

त्यस्तै, बैठकले म्यूजिक भिडियोलाई राज्य मातहत ल्याउनको लागि आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको छ । ‘हालको अवस्थामा म्यूजिक भिडियोहरु राज्यको मातहतमा नरहेकोले म्यूजिक भिडियोलाइ पनि चलचित्र निर्माणको एक पाटोमा राख्नु पर्ने आवश्यकता रहेको छ । त्यसकारण म्यूजिक भिडियोलाई पनि राज्यको सम्वन्धित निकाय मातहतमा ल्याउनको लागि आवश्यक प्रकृया तत्काल सुरु गर्ने निर्णय पनि गरेका हौँ’, समाजका अध्यक्ष बिधान कार्कीले बताए ।