बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक



काठमाडौँ। बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताए ।

काठमाडौँ बानेस्वरमा रहेको वन सिनेमाजमा एक कार्यक्रमका बीच चलचित्रको टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिको हो। उक्त कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न अतिथिका साथै थुप्रै संचारकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो।

‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झन्डै चार वर्ष अनुसन्धान नै गरेँ,’ निर्माता लामाले भने । ‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ,’ लामाले थपे । चलचित्रमा आर. पी. कर्माचार्य र शेखर लामाको लगानी रहेको छ। चलचित्रलाई विभिन्न फेस्टिभलमा सहभागी गराए पश्चात मात्र सिनेमा घरमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथा वस्तुलाई उजागर गरिएको लामाको भनाइ छ ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।चलचित्रको छायांकन र निर्देशन देवजंग थापाले गरेका हुन् । चलचित्रमा संगीत संजिव लिम्बुको रहेको छ। तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रमा मिक्सिङ्ग दीप तुलाधरले गरेका छन्।

चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.