५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० प्रतिशत अकुपेन्सीमा मात्र सिनेमा हल संचालन गर्न निर्देशन दिएको छ । काठमाडौँ जिल्लाका प्रमुख अधिकारी कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्डलाई उक्त निर्देशन दिएका हुन् ।

कोभिड संकट व्यवस्थापन केन्द्रले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधिलाई पालना गर्दै हल संचालन गर्न प्रशासनले निर्देशन दिएको हो । बोर्ड अध्यक्ष दयाराम दाहालसहित चलचित्र संघका पदाधिकारी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले बुधबार नै सिनेमा हल लगायतका मनोरञ्जन स्थल खुलाउने अनुमति दिएको थियो । तर, अकुपेन्सी र कसरी हल खुलाउने भन्ने निर्देशिकाबारे प्रशासनले केही बताएको थिएन ।

प्रशासनले सामाजिक दूरी, मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न र भीडभाड नगर्न समेत भनेको छ । यसैबीच, काठमाडौं उपत्यकाबाहिरका सिनेमा हल खुलाउनेबारे चलचित्र विकास बोर्डले सीसीएमसीसँग केही दिनमै छलफल गर्ने भएको छ ।