‘बाटुली’ मा छुच्ची सासु बनिन् मौसमी मल्ल



काठमाडौं। नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो ।

सञ्चारकर्मि गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिश्रृंखला झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युग भन्दा अघि नेपाली गाउँसमाजमा सासु र बुहारी बिच हुने बिभेदलाई टेलिश्रृंखलामा हेर्न सकिने निर्देशक गोपिकृष्णले जानकारी दिए । टेलिश्रृंखलाको कथा पनि गोपिकृष्णले लेखेका हुन् ।

टेलिश्रृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व (नवलपुर)मा गरिएका अर्का निर्देशक तथा ब्यवस्थापक नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिकाको झाँक्रे गाउँमा छायांकन गरिएको छ । सुरुमा ४ भाग छायांकन भइसकेको बताइएको छ ।

टेलिश्रृंखला ‘बाटुली’मा अभिनेत्री मौसमी मल्ल सासुको भूमिकामा छिन् भने सिपी पोडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निभाएकी छन् । यस्तै खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय रहेको छ । अनिल लामिछानेको छायाँकन रहेको टेलिश्रृंखला ‘बाटुली’मा शारधा पौडेलको श्रृंगार रहेको छ भने विरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । टेलिश्रृंखला ‘बाटुली’मा निरज पन्थिको सहायक निर्देशन रहेको छ । बाटुली आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।